Message from The Chair Person
Mr. Suresh Babu Amgai
Chair Person
डिभिजन सहकारी कार्यालय, काठमाडौँमा दर्ता नं. १७३८/०५५/५६ (मिति २०५६/०४/०२) मार्फत दर्ता भई हाल का.म.न.पा.-१६, वनस्थली स्थित आफ्नै कार्यालय भवनबाट कारोबार सञ्चालन गर्दै आएको यो संस्थाले सफलतापूर्वक १७ वर्ष विभिन्न आरोह अवरोह पार गर्दै पूरा गरेको छ। यो संस्था सहकारीका मूल्य, मान्यता, सिद्धान्त, प्रचलित ऐन-कानुन एवं सहकारी विभागको निर्देशनहरुलाई आत्मसात गर्दै तथा यस सहकारीको विनियम र नीतिलाई अवलम्बन गरी शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि निरन्तर क्रियाशील छ।
संस्थाको कार्यक्षेत्र
यस संस्थाको कार्यक्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत साविक इचंगुनारायण गा.वि.स. (हाल नागार्जुन न.पा. वडा नं. १, २, ३), साविक सितापाइला गा.वि.स. (हाल नागार्जुन न.पा. वडा नं. ४, ५), साविक गोलढुंगा गा.वि.स. (हाल तारकेश्वर नगरपालिका वडा नं. ४, ५) साथै काठमाडौँ महानगरपालिका वडा नं. १५, १६ भित्र व्यवस्थित रूपमा फैलिएको छ।
हाम्रो टिम
संस्थाको १७औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समितिमा वित्तीय एवं सहकारी क्षेत्रका विज्ञ व्यक्तित्वहरु रहनुभएको छ। साथै, संस्थाको दैनिक कार्य सम्पादनका लागि ११ जना दक्ष र अनुभवी कर्मचारीहरुको समूह अहोरात्र खटिरहेको छ।
वर्तमान अवस्था र प्रतिबद्धता
हामी पूर्णतः संस्थागत सुशासन र पारदर्शितामा विश्वास गर्दछौं। शेयर सदस्यहरुको अटुट विश्वास, समितिको निष्ठा र कर्मचारीहरुको लगनशीलताकै कारण संस्था आजको सुदृढ अवस्थामा आइपुगेको हो। संस्थाका मुख्य वित्तीय सूचकहरु प्रत्येक महिना सार्वजनिक गर्ने परिपाटी हामीले बसालेका छौं।
वर्तमान समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय परिवेशमा देखिएको उतारचढावका कारण समग्र देशको अर्थतन्त्रमा केही शिथिलता देखिएको छ। यसको प्रभाव स्वरूप बजारमा तरलताको चाप र लगानीको वातावरणमा केही चुनौतीहरु थपिएका छन्। यद्यपि, यी परिस्थितिलाई हामीले धैर्यतापूर्वक व्यवस्थापन गरिरहेका छौं र निकट भविष्यमा वातावरण सहज हुनेमा हामी पूर्ण विश्वस्त छौं। हामी शेयर सदस्यहरुको सर्वोत्तम हितलाई शिरोपर गर्दै सहकारी शिक्षा, वित्तीय साक्षरता, अभिमुखीकरण र संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रतिबद्ध छौं।
निष्कर्ष
अन्त्यमा, शेयर सदस्य महानुभावहरुबाट प्राप्त रचनात्मक सुझाव र सल्लाहका आधारमा आगामी दिनमा यस संस्थालाई अझ बढी सुरक्षित, सुदृढ र विश्वसनीय बनाउने प्रण गर्दछु।
जय सहकारी !
धन्यवाद,